रमेश थापा
पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकामा विद्युत अवरुद्ध हुदा खानेपानीको हाहाकार मच्चिएको छ । पाँच दिनदेखि तमोर लिफ्ट खानेपानी संचालनमा प्रयोग गरिएको ११ केभिएको विद्युत सेवा अवरुद्ध हुदा खानेपानीको हाहाकार भएको हो । खानेपानीको समस्याका कारण १५ सय घरधुरी प्रत्यक्ष मारमा परेका छन । विद्युतकै कारण योजनामा प्रयोग गरिएको पंम्प संचालन गर्न नसक्दा खानेपानी योजना अवरुद्ध भएको हो ।
खानेपानीकै अभावका कारण गाउँपालिका केन्द्रको यासोक बजारका होटल व्यावसायीहरु पनि प्रत्यक्ष मारमा परेका छन । व्यावसाय संचालन गर्न समस्या भएपछि तत्कालको लागि व्यवसायीले खानेपानी संकट टार्न ट्याक्टरबाट पानी ढुवानी गर्दै आएको स्थानीय होटल व्यावसायी देबेन्द्र सम्बाहाम्फेले बताए ।
निरन्तरको वर्षादका कारण गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको फिदिम विद्युत सहकारी संस्था यासोक युनिटका प्रमुख खेमराज निरौलाले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकाको अधिकाम्स बस्तीमा समस्या देखा पर्दा विद्युत अवरुद्ध हुने गरेको निरौलाको भनाइ छ । कतिपय ग्रामिण विद्युत सहकारी संस्थाहरुले अबरुद्ध भएको विद्युत मर्मत सुधार नगर्दा पनि समस्या हुने गरेको कार्यालयले जनाएको छ ।
यता गाउँपालिकाले बैकल्पिक व्यवस्थापनमा ध्यान दिने बताएको छ । गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीले स्थानीय साधन र श्रोतको संरक्षण गर्दै तमोर लिफ्ट खानेपानी योजनालाई दीर्घकालीन रुप दिने दावी गरे । उनले अवरुद्ध भएको विद्युतलाई चााडै मर्मत सुधार गरी खानेपानी संचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।