पाँचथर- सामाजिक सुरक्षा कार्यक्रमका लागि घर-घरमै भत्ता बाँड्ने भन्दै जनप्रतिनिधि, कर्मचारीहरुले आफ्नो व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी वितरण गरेको गुनासो आएपछी विभागले ७५३ वटै स्थानीय तहलाई सो कार्य नगर्न निर्देशन दिएको छ ।
विभागले मंगलबार पत्रचार गर्दै भनेको छ “ सामाजिक सुरक्षा कार्यक्रमका लागि घरघरमै भत्ता बाँड्ने भन्दै आफ्नो व्यक्तिगत बैंक खातामा जम्मा गरेको भन्ने जानकारी प्राप्त भएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत सम्बन्धित स्थानीय तहमा निकासा भएको रकम सम्बन्धित लाभग्राहीको बैंक खातामा बाहेक अन्य ब्यक्तिको व्यक्तिगत बैंक खातामा जम्मा गर्ने कार्य आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७ विपरित, गैरकानूनी र अनियमित भएको हुँदा यस प्रकारको कार्य नगर्नु नगराउनु हुन अनुरोध छ ।“
“नेपाल सरकारले मिति २०७७।०७।२४ मा राजपत्रमा सूचना प्रकाशन गरी मिति २०७७।०८।०१ देखि मिति २०७८।०८।०१ सम्ममा सबै स्थानीय तहहरुले बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने निर्णय गरेपश्चात हाल मुलुकका सबै स्थानीय तहमा बैंक खातामा भत्ता रकम जम्मा गरी बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको र “लाभग्राहीको नाममा प्राप्त भएको रकम जनप्रतिनिधि, कर्मचारी वा अन्य असम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने कार्य प्रचलित कानून बमोजिम कसूर ठहरिने हुँदा सोही अनुसार कारवाही भईजाने व्यहोरा समेत अनुरोध छ।“ बिभागको पत्रमा भनिएको छ ।
कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकमा भत्ता लिन समस्या भएकाले घरदैलोमानै गएर भत्ता वितरण गर्ने गरेको बताएका छन् । तर सहजता प्रदान गर्ने क्रममा लाभग्राहीको नाममा प्राप्त भएको रकम जनप्रतिनिधि, कर्मचारी वा अन्य असम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने कार्य प्रचलित कानून बमोजिम कसूर ठहरिन्छ ।