Comments Add Comment

फुटबल खेलाडी पुनमलाई पाँचथरमा सम्मान

पाँचथरः अन्डर-१५ महिला फुटबल खेलमा साफमा पहिलो उपाधि विजेता राष्ट्रिय टिमको खेलाडी पुनम चेम्जोङलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।

भर्खरै सम्पन्न बङ्गला देशमा आयोजित उक्त खेलमा नेपालको टिमबाट खेलाडीको रुपमा सहभागी भई नेपाललाई ऐतिहासिक उपाधि दिलाउन सफल भएको टिमको खेलाडी चेम्जोङलाई गृहजिल्ला पाँचथरमा बधाईसहित सम्मान गरिएको हो । उनलाई आफ्नो जन्म स्थान फाल्गुनन्द गाउँपालिका आउने क्रममा विभिन्न संघसंस्था,स्थानीय र शुभचिन्तकले बधाई तथा सम्मानका साथ स्वागत गरेका छन् ।

फाल्गुनन्द ५ नम्बर वडामा रहेको फाक्तेप युथक्लबको सदस्य रहेकी चेम्जोङले फुटबलको क्षेत्रमा पाँचथर जिल्लाको मात्र नभएर देशकै इज्जतलाई उचाईमा पुर्याउन र फुटबल खेलमा पुर्याएको योगदानको कदर गर्दै युथक्लबले आयोजना गरेको सम्मान कार्यक्रममा विजय र्यालीसहित उनलाई घरसम्म लगिएको छ ।

उनले प्रारम्भिक शिक्षा हाँसिल गरेको विजयटार आधारभूत विद्यालाय फाकफोकथुम-१,दशमी,एसईई पास गरेको विद्यालय घुर्बिसे पञ्चमी माद्यमिक विद्यालय फाल्गुनन्द-५,फाक्तेपले पनि सम्मान गरेको छ भने ५ नम्बर वडाले नगद १० हजार रुपैयाले सम्मान गरेको छ । फाल्गुनन्द गाउँपालिकाले पनि खेलाडी चेम्जोङलाई एक कार्यक्रमको आयोजना गरि नगदसहित सम्मान गरिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

यसैबीच,फूटबल खेलमा योगदान पुर्याउनु भएका महानुभावहरुलाई पनि सम्मान गरिएको छ । अन्डर-१५ राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भगवती राना मगर,फुटबल प्रशिक्षक रोशन शाह ठकुरी,जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राई र प्रशिक्षक पाशाङ तामाङलाई सम्मान गरिएको क्लबका अध्यक्ष पञ्च कुमार चेम्जोङले बताए ।

नेपालले बङ्गला देशमा सम्पन्न अण्डर-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा भएको राउन्ड रोबिन लिगको अन्तिम खेलमा  बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमाञ्चक खेलमा नेपालकै गोलकिपर कप्तान गरेका सुजता तामाङको उत्कृष्ट प्रदर्शनले एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो । खेलमा शुरुवाती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् तर खेलको ५४ औं मिनेटमा भने बङ्गला देशकी रुमाले गोल गर्दै १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ