रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–१ नं.वडाले वर्षादको पानी संकलन गर्न बिभिन्न उपाय अपनाउदै आएको छ। किसानलाई विगतका बर्षदेखि नै प्लाष्टिक पोखरी र ड्रम बितरण गर्दै आएको छ। सुख्खाक्षेत्रका नागरिकलाई सहज हुने स्थानमा भने पक्की पोखरी निर्माण गरी सिचाँईको व्यवस्थापन पनि गर्दै आएको छ। वडाले चालु आर्थिक वर्ष २०७९÷०८० को ७ लाख रुपैयाँमा कुम्मायक–१ को खाल्डेमा पनि पक्की पोखरी निर्माण गरेको छ। वर्षादको पानी संकलन गर्ने उदेश्यले पक्की पोखरी निर्माण गरेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए।
वर्षादको पानी संकलन गर्न २० मिटर लम्बाइ, १० मिटर चौडाइ र डेढ मिटर उचाईको पक्की पोखरी निर्माण गरिएको छ। पक्की पोखरीको छेउमै रहेको खाल्डे मा.वि.को जस्तापाताको छानोबाट वर्षादमा खेर जाने पानीलाई संकलन गर्ने गरी पोखरी निर्माण गरिएको अध्यक्ष लावतीले बताए। पोखरीमा संकलन गरेको पानी आवश्यकता अनुसार त्यस क्षेत्रका किसानलाई सिचाँहीको लागि बितरण गरिने वडा कार्यालयले जनाएको छ।