मनोज थापा
यासोक, ०८ असार
कुम्मायक गाउँपालिकाले गाउँसभा अधिवेशनका आह्वान गरेको छ। कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले आ.व. २०८०।०८१ को निति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल र स्वीकृतिका लागि अधिवेशन आह्वान गरेका हुन्।
सूचना जारी गर्दै यही असार १० गते आईतबार दिनको ठिक १० बजे कुम्मायक गाउँपालिकाको सभाहल यासोक, पाँचथरमा बस्ने गरी गाउँसभा अधिवेशन आह्वान गरिएको गाउँसभा सचिव देवी तुम्वापोले पत्रमार्फत जानकारी गराएका छन् ।
अधिवेशनमा गाउँसभा सदस्यहरुलाई अनिवार्य उपस्थित हुनुपर्ने भनिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनु पर्छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सूचक अनुसार गाउँ कार्यपालिका र नगरकार्यपालिको प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान पेश नगरेमा र असार १५ गतेसम्म विद्युतीय अनलाइन पोर्टलमा प्रविष्ट नगरेमा ५ अंक काटिन्छ।
त्यस्तै, असार मसान्तसम्ममा बजेट पारित नगरेमा र साउन महिनाको पहिलो हप्ताभित्र विद्युतीय अनलाइन पोर्टलमा प्रविष्ट नगरेका स्थानीय तहलाई थप ५ अंक काटिन्छ। स्थानीय तहलले तोकिएको समयभित्र बजेट पुस्तिका मन्त्रालयको विद्युतीय अनलाइन पोर्टलमा राखिसक्नुपर्छ।
यसरी बजेट समयमा पेश नगर्दा र पारित नगर्दा मात्रै स्थानीय तहले आफ्नो कार्यसम्पादन मूल्यांकनमा १० अंक गुमाउँछन्। यसरी अंक गुमाउँदा वा कार्यसम्पादनमा कम अंक ल्याउँदा स्थानीय तहले वार्षिकरुपमा संघ सरकारबाट पाउने समानीकरण अनुदान घट्न जान्छ।